Monday, 24 August 2015

एसएसपी न्यौपानेका आफन्त शोकमग्न


भाद्र ७, २०७२ - सोमवार दिउँसो बजार पुगेर फर्किदै गरेका प्रदीप न्यौपानेले चन्द्रगढी ७ स्थित निवासमा भीड देखे । इष्टमित्रको भीडलाई पन्छाउदै घर छिरेपछि मात्रै उनले काल्दाजुको मृत्युको खबर थाहा पाए । ‘दाजुको मृत्युको खबर सपनाजस्तो लागिरहेको छ’, प्रदीपले सोमवार संवाददातासँग भने,‘पत्ताउनै सकेको छैन ।’ टीकापुर भिडन्तमा एसएसपी लक्ष्मण न्यौपानेको मृत्युको घटनाले उनी हुर्किवढेको चन्द्रगढी शोकमग्न बनेको छ । २०१९ मा भोजपुरको गोगनेमा आमा रामकुमारी र वुवा प्रेमका काइला छोराका रुपमा जन्मिएका न्यौपानेलाई परिवारले वर्षीको हुँदा झापाको चन्द्रगढी ल्याएको थियो । उनीहरु ६ दाजु भाइ हुन् । न्यौपानेले स्थानीय वीरन्द्र माविवाट पढाई सुरु गरी २०३९ मा त्यहीबाट प्रथम श्रेणीमा पास गरेका थिए । ‘दाजु पढाईमा पनि तेज हुनुहुन्थ्यो’, भाइ प्रदीपले सुनाए, ‘साह्रै मिहेनती हुनुहुन्थ्यो ।’ कडा मिहेनतकै कारण उनी प्रहरीको उच्च ओहदामा पुगेका थिए । एसएलसी लगत्तै उच्च शिक्षाका लागि उनी काठमाडौ गएका थिए । त्रिचन्द्र कलेजमा आइएस्सी पढ्दा पढ्दै २०४४ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट उनले प्रहरीमा सेवा सुरु गरे । जागिरका कारण प्राय उनको वसोवास राजधानी केन्द्रित थियो । चन्द्रगढीमा उनीसहित दाजु/भाइको सगोलमा चार विगाहा जमीन छ । फुर्सद हुने बित्तिकै वुवा आमा भेट्न झापा आइरहन्थे लक्ष्मण । जव २०६७ सालमा वुवा प्रेमनाथ बिते त्यसपछि उनको झापा आइजाइ पातलिएको बुहारी विजयाले बताइन् । आमा रामकुमारी राजधानीमै छिन् । एसएसपी लक्ष्मण पछिल्लो समय गत वर्ष झापा आएका थिए । फुपुको घरमा भागवत पुराण आयोजना गरिएको थियो त्यही मौकामा उनी आएका थिए । उनले तीन साताअघि भाइ प्रदीप, वुहारी र भतिज प्रज्जवलसँग टेलिफोनमा कुरा गरेका थिए । ‘हाल खबर सोध्नु भएको थियो’, भजित प्रज्ज्वलले सम्झिए, ‘राम्ररी पढ्नु भनेर आर्शिवाद दिनु भएको थियो ।’ लक्ष्मणका श्रीमती र दुई छोरा छोरी छन् । प्रकाशित: भाद्र ७, २०७२

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us