
पुराना र ‘जनताबाट बहिष्कृत’ व्यक्तिहरूलाई साथ लिएर अगाडि नबढ्न उनले पिता ज्ञानेन्द्रलाई सुझाव दिएको स्रोतहरू बताउँछन् । दोस्रो जनआन्दोलनपछि पनि पूर्ण रूपमा राजसंस्थाको अन्त्य गर्न नहुने उनको अडान थियो । तर, यी सबै कुरामा पूर्व राजा ज्ञानेन्द्रले पारसका कुरा नसुनेको उनी निकट स्रोत बताउँछ । ‘घरबाट समेत आफूलाई सहयोग नरहेको उहाँको गुनासो हुन्थ्यो,’ स्रोत भन्छ । नेपालमा बनेको आफ्नो नकारात्मक छविका कारण पनि पारसमा निराशा उत्पन्न भएको थियो । विरक्तिएकै कारण उनी केहि बर्ष विदेश भासिएको पारस निकट स्रोतहरू बताउँछन् । सुरुमा उनी सिंगापुर गए । उनले परिवारसहित नै उतै बस्ने योजना बनाएका थिए । तर, पछि बैंकक बसाइ सरे । तनावका कारण उनी लागूपदार्थको अम्मली बने जसले उनको स्वास्थ्य पनि खत्तम बनायो । ‘विरक्तिएर नै उहाँमा गाँजाको लत बसेको हो,’ स्रोत भन्छ ।