Tuesday, 28 July 2015

सिंचाईको अभावमा कतै रोपाई नै भएन कतै खेतै धाँजा फाट्न थाल्यो

कृषिप्रधान मुलुक नेपालमा पर्याप्त सिंचाईको प्रबन्ध नहुँदा मुलुकको प्रमुख खाद्यान्न बाली धान उत्पादनमा व्यापक कमी आउने भएको छ । साउनको दोस्रो साता पुग्न लाग्दा पनि धानखेती हुने ठाउँमा पर्याप्त वर्षा नहुँदा खडेरी फैलिएको हो ।
अन्नको भण्डार मानिएको मध्य तराईका बारा, पर्सा र रौतहटमा अहिलेसम्म धानको रोपाइँ हुन नसक्दा किसान चिन्तित छन् ।
यस क्षेत्रमा अहिलेसम्म मुस्किलले ४० प्रतिशत रोपाइँ हुन सकेको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका अनुसार, धान उत्पादनका लागि उर्वर मानिएको बारा, पर्सा र रौतहट जिल्लामा झन्डै एक लाख ७५ हेक्टर खेतीयोग्य जग्गामध्ये करिब ४५ प्रतिशतमा सिँचाइ सुविधा पुगे पनि साउनको पहिलो साता बित्दासम्म मुस्किलले ४० प्रतिशत रोपाइँ हुन सकेको छ । वर्षायाममा वरिपरि खेत बाँझै देखिन्छ । केही दिनअघि जसोतसो रोपिएका धानबाली पनि पहेंलिएका छन् ।

वर्षा नभएका कारण लामो खडेरीले रोपाइँ गर्न नपाएपछि यस क्षेत्रका किसान टन्टलापुर घाममा पुर्पुरोमा हात लगाएर आकाशतिर हेरिरहेका छन्, किसान भन्छन्– “मुठ्ठी रोपेर मुरी उब्जाउनका लागि अहोरात्र खेतमा खट्ने अहिलेको बेलामा लामो खडेरीले रोपाइँ हुन नसक्दा हामी सबैभन्दा बढी मर्माहत भएका छौँ ।” बारामा ६२ हजार हेक्टर जग्गा धान खेतीयोग्य छ । तीमध्ये ३२ हजार हेक्टर जमिनमा अगहनी धान खेती हुन्छ । झन्डै ४५ प्रतिशतमा मात्र सिँचाइ सुविधा छ । बाँकी ५५ प्रतिशत जमिनमा आकाशे पानी परेपछिमात्रै खेती सुरु हुन्छ ।

“मङ्सिरे धानको गेडा लाग्ने सम्भावना पनि टर्न लागेको छ । जसोतसो जोगाएको बीउ पनि सुक्न लाग्यो । पानी पर्ला झैँ हुन्छ अनि आफैँ टर्छ”, बारा फत्तेपुरका किसान राजेश साहले भन्नुभयो– “धान रोप्ने याममा यति लामो खडेरी त जीवनमै भोग्नुपरेको थिएन ।”

अधिकांश रोपाइँ पम्पसेटबाट भएको हो । गण्डक नहर सम्झौताअनुसार भारतले पूर्वी गण्डक नहरमा ८४० क्युसेक पानी दिनुपर्नेमा त्यसको आधामात्र दिने गरेको छ । सम्झौताअनुसार पानी नछोडिदिँदा मूल नहरमा पानीको कमीका साथै नेपालतर्फ नहरमा आउने पानी भारतीय किसानले बीचमै काटेर लगेकाले पनि यस्तो समस्या उत्पन्न भएको हो । सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी उपलब्ध गराउनका लागि भारतसँग पहल गर्न सरकारसँग यहाँका किसानको माग रहेको छ ।

पाल्पामा भने वर्षाको अभावका कारण रोपेका धान सुक्न थालेका छन् । समयमै पर्याप्त वर्षा नभएपछि तथा सिँचाइको सुविधा नभएकै कारण रोपेको धान अहिले सुकेर पराल भएको हो ।

असारको अन्तिममा आएको भलपानी छोपेर रोपाइँ गरेका किसान हरियो बीउ सुकेर पराल भएपछि चिन्तित बनेका छन् । साउनको मध्यतिर आइपुग्न लाग्दा पनि वर्षा नपरेकाले कतिपय ठाउँमा रोपाइँ गर्नै बाँकी छ । केही ठाउँमा रोपाइँ गरेका खेतमा धाँजा फाटेका छन् । पानीको अभावका कारण ब्याडमा बीउ छिप्पिन थालेको छ ।

“वर्ष दिन खाने खेती पानीको अभावले गाबो हाल्न नभ्याउँदै सुक्यो, खेत रोपेर गल्ती गरियो, यही जग्गामा तरकारी लगाएको भए आम्दानी हुन्थ्यो” किसान सालिकराम पौडेलले भन्नुभयो । उहाँको मात्र होइन यो समस्या अहिले धेरै किसानको छ । खेतालाको अभावले काम नै रोकिने हुँदा पहिले नै आलीकान्लो गर्ने, आली लगाउने काम सकाएर पानी परेपछि खेत रोप्ने काम सुरु हुन्छ ।

त्यसै गरी लामो समयदेखि सिरहामा वर्षा नभएका कारण रोपाइँ भएको धानबालीमा डढेलो लाग्न थालेपछि किसान चिन्तित बनेका छन् ।

समयमा पर्याप्त वर्षा नभएको र सिँचाइको समेत उचित व्यवस्था नभएका कारण वैकल्पिक सिँचाइको प्रयोग गरी रोपाइँ गरेका धानको बालीमा समेत वर्षाको आभावमा डढेलो लाग्न थालेपछि किसान चिन्तित बनेका हुन् । जिल्लामा कतिपय किसानले खेतलाई गोडमेल गरेर तयार पारिसकेको अवस्थामा पनि वर्षा नभएपछि अधिकांश खेतीयोग्य जग्गा बाँझो छ ।

असारको अन्तिमतिर वर्षा भएपछि किसानले धमाधम धान रोपाइँ गरे पनि त्यसयता वर्षा रोकिएका कारण रोपाइँ भएको धानमा डढेलो लाग्न थालेको किसान बताउछन् । “पछि वर्षा हुन्छ कि भन्ने विश्वासका साथ महँगो मूल्य तिरेर सिँचाइ मोटरको प्रयोग गरी रोपाइँ गरियो,” तरेगना गोबिन्दपुरका सुरतलाल चौधरीले भन्नुभयो– “वर्षा नभएपछि धानको बाली घामले डढ्न लाग्दा पशुलाई त्यही बेर्ना काटेर आहारका रूपमा खुवाउन लागेको छु ।”

ऋण लिएर खरिद गरी धानको बीउ रोपेको तर पानी नपरेपछि ती बीउ त्यतिकै डढिरहेकाले काटेर चौपायलाई खुवाउन थालेको उहाँले बताउनुभयो । साउन महिनाको दोस्रो सातासम्ममा सप्तरीमा करिब २० प्रतिशतमात्र रोपाइँ हुँदा किसान चिन्तित छन् । जिल्लामा कुल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गा रहे पनि समयमा वर्षा नहुँदा ८० प्रतिशत खेतीयोग्य जग्गा बाँझै रहेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत योगेन्द्र यादवले जानकारी दिनुभयो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us