पशु अधिकारको वकालत र बलि प्रथा रोक्ने अभियानमा लागेका व्यक्ति र संघसंस्थाहरुले मंगलबार केही क्षण खुशीयाली मनाए। गढिमाई मेलामा पशु चौपायाको बलि दिने प्रथा रोकियो भन्ने खबरले उनीहरु खुसी भएका थिए तर यो खुसी धेरै बेर टिकेन। मंगलबार राती जब गढिमाई मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बलि रोक्ने कुनै निर्णय नभएको जानकारी दिए। त्यसपछि बलि दिने र नदिने बिषयमा निर्णय भएको हो होइन भन्ने कुरानै स्पष्ट हुन सकेन ।
पशुकल्याण सञ्जाल नेपाल र हुमाने सोसाइटी इन्टरनेशनलले मंगलबार भारतको राजधानी दिल्लीमा आयोजना गरेको पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा समितिले बलि प्रथा रोक्ने निर्णय गरेको उल्लेख गरियो। समिति अध्यक्ष साहको भनाई र उनको विज्ञप्तिलाई आधार मानेर आयोजकले जारी गरेका विज्ञप्तिमा स्पष्टसँग लेखियो, ‘अबदेखि गढिमाई मेलामा बली दिइने छैन। यो प्रथा २०७६ देखि बन्द हुनेछ ।’
दिल्ली पुगेका समितिका सदस्य निर्णय भएको हो भन्छन, बाराको वरियापुरमा भएका समिति अध्यक्ष निर्णय भएकै छैन भन्छन्।
दिल्लीको पत्रकार सम्मेलन आयोजक मध्येको एक पशुकल्याण सञ्जाल नेपालका संस्थापक अध्यक्ष मनोज गौतमका अनुसार समितिका अध्यक्ष साह विशेष कारणले दिल्ली उपस्थित हुन सकेनन्। पत्रकार सम्मेलनमा भाग लिन गढिमाई मन्दिरका मुल पुजारी मंगल चौधरी थारु र समिति सचिव मोतीलाल कुशहवा त्यहाँ पुगेका थिए। नागरिक दैनिकमा खबर छ ।