Tuesday, 28 July 2015

नेपाललाई टुक्राउने मधेषी नेताहरुले दिए धम्की

नयाँ संविधानमा आफ्ना मागहरू समावेश नभए मुलुक विखण्डनको राजनीति अँगाल्न आफूहरू पछि नपर्ने चेतावनी कांग्रेस सभासद् अमरेशकुमार सिंहलगायत केही मधेसी नेताहरूले दिएका छन् ।
संविधानसभाको संवैधानिक—राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईसँगको अन्तरक्रियामा मधेस केन्द्रित नेताहरूले यो चेतावनी दिएका हुन् ।

मधेस केन्द्रित नेताहरूले संविधानको पहिलो मस्यौदालाई सम्पूर्ण रूपमै नसच्याउने हो भने मधेस स्वायत्त प्रदेश नभएर मधेस स्वायत्त राज्यको माग गर्नुपर्ने परिस्थिति उत्पन्न हुने बताए । डा. भट्टराईसँग मधेसका नेता, सभासद् र बुद्धिजीवीहरूले भने, ‘यो देसको रक्षा प्रमुख चार दल, सुरक्षाकर्मीलगायतबाट हुन सक्दैन ।’
नेपाली कांग्रेसका सभासद् सिंहले संविधानको पहिलो मस्यौदा, त्यसअगावै बसेको मस्यौदा समिति र संवाद समितिका बैठक एवम् निर्णय हेर्दा आफूहरूबीच या त प्रदेश देऊ या देश देऊ भन्नुको विकल्प नरहेको बताए । ‘प्रदेश नभए देश अटोमेटिक बन्छ’, सिंहले भने, ‘अहिले मधेसको अवस्था बंगलादेश विभाजनअघिको पाकिस्तानजस्तो छ ।’
उनले मधेस आन्दोलन वार्मअप मात्र भएको उल्लेख गर्दै एकीकृत नेपालको नक्सा परिवर्तन हुनसक्ने चेतावनी दिए । ‘संघीयता र समावेशी नभए कसैले पनि यो देशको एकता बचाउन सक्दैन,’ उनले भने, ‘भोलि एक लाख मानिस सडकमा आए कसले रोक्छ रु ’ सिंहले गत साउन ४ र ५ गते मधेसमा भएको विद्रोहको समाचार पत्रिकामा नआएको भन्दै आक्रोश पोखे ।
अधिवक्ता दीपेन्द्र झाले पहिलो मस्यौदामा नागरिकताका सम्बन्धमा उल्लिखित व्यवस्था नै मुलुकको विभाजन गराउने खालको भएको बताए ।

सर्वोच्च अदालतले दिएको आदेशविपरीत सीमांकन र नामांकन नभई संविधान जारी हुन नसक्ने उल्लेख गर्दै उनले भने, ‘प्रमुख दलका चार शीर्ष नेताले नै सर्वोच्च अदालतको आदेश अस्वीकार गर्नुको अर्थ यो देशको नियम, कानुनको सबैभन्दा ठूलो अवज्ञा उनीहरूबाट भएको प्रमाणित भएको छ ।’
राजनीतिक विश्लेषक तुलनारायण साहले मधेसी दलले मात्र नभएर १६ बुँदे सहमतिसम्म आउँदा एकीकृत माओवादीसम्मले मधेस मुद्दा छाड्नु मधेसको भविष्यका लागि राम्रो नभएको बताए ।

केही दिनयता गौरदेखि सिरहासम्म मधेसी समुदायबीच मधेसको भविष्यबारे छलफल गर्दा चार दलभित्रकै मधेसी सभासद्हरू मस्यौदामा व्यापक असन्तुष्ट रहेको पाइएको साहले बताए । मधेस र भारतबीचको बेटीरोटीको सम्बन्ध प्रस्तावित नागरिकताले तोड्दै आधा मधेसीलाई अंगीकृत बनाउने कार्य गरेको भन्दै उनले दुःख व्यक्त गरे । अन्नपुर्ण पोस्ट

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us