Friday, 24 July 2015

लालबाबु पण्डितको रोचक प्रेमकहानी


पर्दाभित्रका पात्रहरु जहिल्यै ओझेलमा हुन्छन् । तर, उनीहरुको भूमिकाले कसैलाई दुनियाँमा चर्चित पात्र खडा गरिदिन्छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित यतिबेला निकै चर्चित पात्र हुन् । चर्चाको पर्दापछाडीबाट लालबाबुलाई विमला महतको निकै ठूलो साथ र सहयोग छ । पण्डितको दुःख, सुखमा साथ दिँदै आएकी विमला लालबाबु पण्डितकी श्रीमती हुन् । खबरडबलीसँग करिब ३ घण्टासम्म कुराकानी गर्दा विमला पटकपटक रुन्थिन् । उनी र लालबाबुबीचको विवाह, प्रेम र जीवनको विषयमा उनले यसरी स्मरण गरिन् : उहाँ (लालबाबु पण्डित) को सर्लाही स्थायी घर । म महतकी छोरी बिमला महत राजधानीकै स्थायी बासिन्दा । हाम्रो अन्तरजातीय विवाह भयो । हामीबीच प्रेम सम्बन्ध भएर विवाह भएको होइन । तर अहिले संसारकै उत्कृष्ट प्रेम सम्बन्ध छ । राजनीतिकै क्रममा पार्टी संगठनमार्फत हाम्रो विवाह भयो । एक अर्कालाई धेरै माया गर्छाैं । विगत त्यति सुखमय थिएन । भन्न त मलाई २४ घण्टा हाँस्छे भन्छन् । तर मेरा विगतका धेरै दुःखहरु छन्, जसले मलाई पटकपटक रुवाउँछ । आमाको पेटमा हुँदा नै बुवा (तीर्थबहादुर महत ) बित्नुभयो । बुवाको मात्रै होइन हामीले आमाको पनि माया पाउन सकेनौं । मेरो दाइ र म थियौं । आमालाई हामीले निकै माया गथ्र्यौं । तर त्यसको बदलामा आमाको माया कहिले पाएनौं । त्यतिबेला बुढापाकाहरुले हामीलाई विषको बोटको अमृत भन्थे । दाई ‘गोविन्द’ जस्तो हुनुहुन्थ्यो । घर परिवारको टेन्सनले नै उहाँ बित्नुभयो । अंग्रेजी, हिन्दी सबै गाउनुहुन्थ्यो । हुन त मलाई गाउँका दाजुभाइले मेरो दुख देखेर जीवन कहानी लेखेर मर्नु भन्थे । रवि नपुगेको ठाउँमा पुग्छ रे कवि । कवि पनि नपुगेको ठाउँमा पुग्छ रे अनूभवी । भन्ने कतै सुनेको थिएँ । मेरा विगत धरै दुःखहरुले भरिएका थिए । काकाहरुसँग मुद्दा मामला थियो । आमाले सबै जायजेथा काकालाई सुम्पिएकी थिइन् । हामीसँग केही थिएन । निकै दुःख गरेर एसएलसीसम्म पढें । त्योभन्दा माथि पढ्न सकिनँ । घरको काम र राजनीति दुवै अगाडी बढाउँदै गर्दा ३५ वर्ष कटेको थाहै भएन । मेरो बुवाको मामा घरपटिकी काकी सानुमायाँ कार्की र काका केशव कार्कीले मेरो निकै ख्याल गर्नुहुन्थ्यो । उहाँहरुले नै मेरा विवाहामा ठूलो भूमिका निभाउनुभयो । त्यो बीचमा मलाई माग्न धेरै आउँथे तर मैले विहे गरिनँ । धेरै राम्रा आर्थिक हैसियत भएका केटाहरु आए । कसैले तिमीलाई पाएँ भने दोहोरी लगाएर विहे गर्छु भन्नेगर्थे । एउटा सुखी अर्को दुखी भयो भने कुरा मिल्छ भन्ने कुरा म गरिरहन्थें । मान्छेहरुको घमण्ड मलाई मनपर्थेन । 

 लालबाबुसँगको भेट ०५४ सालको निर्वाचनमा मैले भैंसीपाटी सैंवु ४ मा वडा अध्यक्ष जितें । सुशिला नेपाल सभासद् हुनुहुन्थ्यो । त्यतिखेर उहाँले मेरो बिहेको बारेमा लालबाबुसँग कुरा गर्नुभएछ । लालबाबुले गर्दिनँ भन्नुभएछ । त्यतिबेला बिहे नगरि बस्छु भन्नुभएको थियो रे । यो ५७ साल तिरको कुरा हो । एक दिन दुई चारजना सभासद् घुम्नको लागि भैंसेपाटी जानुभएको रहेछ । म पानी थाप्न गएकी थिएँ । उहाँको पनि नाम त्यति सुनिएको थिएन । एक जना गाउँको भाउजुको पसल थियो । ‘हाम्रो बहिनी पनि वडा अध्यक्ष हो नी’ भन्दै उहाँले चिनाउनुभयो । सभासद्हरुको मनमा लागेछ । सुशीला नेपालले बिहे गर भनेको केटी त यही पो रहेछ । अब सुशीलालाई गएर जसरी पनि सम्झाउने निर्णय गर्नुभएछ । सभासदमध्येका शेरधनराईले लालबाबुलाई ‘यो केटी पर्यो भने चाहीँ राम्रो हुन्छ’ भन्नुभएछ । अर्को एक दिन म बाहिर निस्किएँ । म राजनीति गरेपनि बेकाममा बाहिर हिड्ने गर्थिनँ । म एक्लै पनि नहिँड्ने । काकाको नाती सानो थियो । उसलाई डोराएर गएको थिएँ । प्रज्ञा भवन कमलादीमा मदनभण्डारीको स्मृति दिवसमा कार्यक्रम थियो । सोही कार्यक्रममा लालबाबु पण्डितलाई सुशीला दिदिले म भएतिर इशारा गर्दै ‘बिहे गर्ने हो भने त्यहि हो केटी’ भन्दै देखाउनुभएछ । त्यतिबेला नै सुशीला दिदिले ‘के गर्ने कमरेड कुरा अगाडी बढाउने होइन ?’ भनेर सोध्नुभएछ । अनि उहाँले ‘हेरुम न त कुरा अगाडी बढाउनुस् ’ भन्नुभएछ । अर्को दिन, महिला दिवसको कार्यक्रम पनि थियो भद्रकालीमा । काकी र म गएका थियौं । कोणसभा सकेर विद्या भण्डारीको गाडी चढेर सिंहदरबार प्रवेश गर्यौं । हामीलाई संसद भवनमै छोडेर विद्या दिदि संसदमा बोल्न जानुभयो । त्यतिबेलै उहाँ (लालबाबु) आउनुभयो । त्यतिबेला तराईको मान्छे भनेपछि हामीलाई इन्डियाको जस्तो लाग्ने । हामी तराई त्यति नगएको मान्छे । उहाँ यताउता हिँड्दै हुनुहुन्थ्यो । काकी (बावुकाे मामाको घरपटिकी काकी, सानुमाया कार्की ) ले मलाई केटा देखाउनुभयो । केटा यहि हो भन्नुभयो । मैले देख्नेबित्तिकै जाउँजाउँ भनेर हतार गरेँ । केही समयपछि सुशीला दिदि आउनुभयो । ‘बोलाउँ’ भन्नुभयो । संसदीय दलको कार्यलयमा भरतमोहनलगायत सबै नेताहरु हुनुहुन्थ्यो । सबैले थाहा पाउनुभयो । आजै पठाइदिउँ पनि भन्नुभयो । लभ परेको भए जस्तो पनि हुन्थ्यो होला । तर हाम्रो त्यस्तो थिएनँ । म अग्ली थिएँ । लालबाबु होचो । मैले पहिले पनि भन्ने गर्थें । मन मिलोस्, जिउन सजिलो होस्, त्यस्तै जीवन साथी होस् । हामी घर फर्कियौं । मेरो काकीलाई मैले ममी भनेर बोलाउँथेँ । उहाँसँग ‘ममी म बिहे गर्दिनँ’ भने । कारण हाइटकै थियो । काकीले सम्झाउनुभयो । उमेर पनि पुगीसक्यो । बिहे नगरेको केटा भेट्न गाह्रो छ भन्नुभयो । तीन चार महिनापछि मैले सोचें । बिहे त गर्नैपर्छ । त्यसपछि मैले काकीलाई हुन्छ बिहे गरौं भनें । त्यतिबेलासम्म लालबाबुको विषयमा मलाई केही थाहा थिएन । एउटा सभासद् भन्ने थाहा थियो । हेर्दैमा उहाँसँग केहि छैन भन्ने बुझिन्थ्यो । धन भएर पनि मान्छे कति दुःखी हुन्छन् । 

मलाई धन होइन हाइट अलि मिलेन की जस्तो लाग्यो । धन भएर दुःखी हुनुभन्दा नभएरै दुःखी हुनु राम्रो हुन्छ । भन्ने सोच मनमा एकाएक आयो । हाईट नै सबै कुरा होइन भन्ने मनमा आयो । यत्तिकैमा कुरा छिनियो । बिहे गर्ने पक्का भयो । हामीबीच कुनै कुराकानी भएन । मेरी काकी अलि आधुनिक हुनुहुन्थ्यो । मलाई पछि गाह्रो होला भनेर उहाँले एक दिन लालबाबुको कोठामा लानुभयो । देखेको पनि छैन बोलेको पनि छैन, भनेर लैजानुभयो । तर केही बोलचाल भएन । उहाँले केही छ भने भन्नु भन्नुभयो । उहाँले ‘खाना पकाउन जान्नुहुन्न होला, मिलेर गरौंला’ भन्नुभयो । मैेले ‘खाना पकाउन आइहाल्छ नि’ भनें । धेरै बोल्ने कुरा पनि उचित थिएन । हामी बीचमा कुनै माग थिएन । दुवैले मिलेर गर्नुपर्ने थियो । कोटेश्वर कोठामा अहिले पनि त्यस्तै छ । पहिले पनि त्यस्तै थियो । प्लाष्टिकको कुर्सी तीन वटा थियो । अहिले बढेर पाँचवटा होलान् । बिहे यसरी भयो २०५८ साल जेठ २२ गते मेरो बिहे गर्ने कुरो भयो । पार्टी केन्द्रीय कार्यालय बल्खुमा बिहे गर्ने कुरो थियो । त्यो दिन निकै खुसीको दिन थियो । जनवादी बिहेमा धेरैजनाले कुर्ता सुरुवाल लगाएर विवाह गरेको देखेकी थिएँ । तर मलाई पहिले देखि नै मुटु थर्काउने गरि बाजा बजाएर, सबैलाई भोज ख्वाएर बिहे गर्ने सोच थियो । तर जनवादी विवाह नै भएपनि मैले पार्टीको अनुमती लिएर बनारसी साडी लगाएरै विवाह गरें । त्यतिबेला बेहुलीले लगाउने मखमलीको जुत्ता जताततै पाइँदैनथ्यो, मैले एकजना भाइलाई जसरी पनि खोजेर ल्याइदिनु भनेर राम्रै साडी र जुत्ता लगाएर बिहे गरेँ । उहाँले पनि सुट पाइन्ट लगाउनु भएको थियो । पार्टी मुख्य कार्यलयमा हाम्रो बिहे भयो । त्यतिबेला माधव नेपाल, भरतमोहन अधिकारी सबै हुनुहुन्थ्यो । हामीबीच बोलचाल केही भएनँ । कोटेश्वरमा उहाँको कोठा थियो । मलाई त्यहाँ नै भित्र्याउनुभयो । मैले पछि मात्रै थाहा पाएँ, उहाँ सर्लाहीमा जन्मिएको भन्ने । दाइ इन्जिनर हुनुहुन्थ्यो । दाइले पाल्पा लगेर पढाउनुभयो । एसएलसीपछि थापाथली इन्जियरिङ कलेजमा पढेर उहाँ पनि इन्जिनर हुनुभयो । रुप तराईको भएपनि चालचलन पहाडीयाको जस्तै छ । भित्रभित्रै माया गर्ने लालबाबु उहाँले ‘तिमीलाई माया गर्छु’ कहिल्यै भन्नुभएन । ‘तिमी यस्तो उस्तो भनेर फुर्क्याउन जान्नुहुन्न । मलाई भने अलिअलि जान्दा त राम्रै हुन्छ जस्तो लाग्छ (लामो हाँसो) । भित्र माया त उहाँलाई असाध्यै होला । तर देखिँदैन । मान्छेको मनले भित्रको माया बाहिर खोज्ने रहेछ । म जिस्क्याउँछु ‘हजुरलाई म कति माया गर्छु, हजुरलाई मेरो माया लाग्छ कि लाग्दैन ?’ उहाँले भन्नुहुन्छ ‘ह्या यस्तो कुरा गर्छौ ’ । उहाँको स्वभाव नै यस्तै छ, मैले बुझेकी छु । बिना मायामा मान्छे कहिल्यै बाँच्दैन । उहाँले मलाई निकै इज्जत गर्नुहुन्छ । मैले जति इज्जत गर्छु, उहाँले त्यति नै इज्जत गर्नुहुन्छ । विवाहित पुरुषले कपडा धोएर लाएको देख्दा माया चम्किन्छ । अस्ती मैले ६ सयमा एउटा साडी किनेर ल्याएँ । यहाँका स्टाफले ६ हजार पर्यो भनेर सोध्नुभयो । म अहिलेसम्म सुपरमार्केट (यो उच्चारणमा उनले सुपाडमार्केट भनेकी थिइन्) छिरेको छैन । छोरीलाई लुगा किन्दा सडकमा पाएको किन्ने हो । मलाई लालबाबुको मन नपर्ने बानी एउटै छैन । चुरोट, जाँड, रक्सी केही खानुहुन्न । म अलि खुल्ला दिलकी भएर होला, देखावटी माया खोज्दो रहेछु । नदेखाइ नदेखाइ माया गर्ने बानी छ, उहाँको त्यो चाहिँ बानी अलिकति ठिक होइन की । हुन त नदेखाएरै गर्ने माया शक्तिशाली हुन्छ । दुःख लाग्दा कुराहरु हामीलाई भनेर टेन्सन दिनुहुन्न । अहिले यस्तो लाग्छ एकदम सोझो मान्छे छानेछु । उहाँको राजनीति भन्दा अर्को कुनै लक्ष्य छैन । छोरीलाई कस्तो व्यबहार गर्ने, बुढीलाई कस्तो गर्नुपर्छ, त्यो जान्नुहुन्न । अहिले असाध्यै माया लाग्छ । सुगरको रोगी हुनुहुन्छ । निकै ख्याल गर्छु। कहिलेकाँही सोच्छु, अरु परेको भए कति दुःख दिन्थे होला । मलाई यो चाहियो, उ चाहियो भनेर कति टेन्सन दिन्थे होला । तै मैले बेलैमा राम्रो गरेछु जस्तो लाग्छ । मैले मेरो बुढो भएर भनेको होइन । यत्तिको नेता नेपालमा भेट्न गाह्रो छ । लोभलाभ केही छैन । 

खाना खाँदै गर्दा कतै हेरेर उहाँलाई खाना थप्नको लागि सोध्न बिर्सियो भने उहाँ खाना नमागी उठीसक्नुभएको हुन्छ । म हरपल उहाँको खुसी हेर्न चाहन्छु । उहाँको खुसी नै मेरो खुसी हो । उहाँ देशवासीको खुसी हेर्न चहानुहुन्छ । मेरो चाहना त्यहि हो । त्यसैले त मलाई यो गीत धेरै मनपर्छ । ‘बनेको छ पहराले यो छाती मेरो ……’ खुसी वा दुःखमा उस्तै लालबाबु लालबाबु दुःखमा नआत्तिने मान्छे हुनुहुन्छ । खुसी र दुःखी भएको बेलाको फरक मैले छुट्याउन सकेको छैन । आमाको सपना देख्नुभयो भने रुनुहुन्छ । अरुबेलाको दुःखमा रुनुहुन्न । आत्तिने र खुसी धेरै हुने उहाँको बानी नै छैन । भूमिगत जीवन बिताउँदा उहाँ धेरै बाहिर हुनुभयो । आमा असाध्यै माया गर्नुुहुन्थ्यो । मेरी सासुले मलाई ‘उही जुनीको आमा’ भन्नुहुन्थ्यो । आफूले दुःख पाएर होला म अरुको दुःख धेरै बुझ्छु । मलाई सासुको निकै धेरै माया लाग्थ्यो । उहाँ टेन्सनहरु सुनाउन मान्नुहुन्न । म सेयर गर्न आग्रह गर्छु । आफ्नो मान्छेलाई सेयर गर्यो भने हलुका हुन्छ । अहिले अलि खुसीको कुरा सुनाउने हुनुभएको छ । म अलि धेरै टेन्सन लिन्छु, त्यहि भएर मलाई सुनाउनुहन्नथ्यो । म बारम्बार सोधिरहन्थें – डिभि पिआरको लडाईं कता पुग्यो भनेर । उहाँले चुप लाग, भइहाल्छ नी भन्नुहुन्थ्यो । मलाई लाग्छ राजनीति गर्ने परिवारहरु आधा ज्योतीषी नै हुन्छन् । म उहाँको टेन्सनहरु बुझ्छु । घरबाट उहाँलाई कुनै दुःख भएन त्यसकारण सजिलो भयो । हामीले आफ्नो गर्नुस्, जे छ त्यहि खाऔंला नभए भोकै बसौंला भन्थ्यौं । लोभ पाप नभइ इमानदारी भयो भने जे पनि गर्न सकिन्छ । लोभ पाप, छ भने डरपनि लाग्छ त्यसपछि मान्छेले केही गर्न सक्दैन । बोलीमा शक्ति हुनुपर्छ । त्यसैले मैले लेखेर पनि राखेकी छु ‘साहस नभए हतियार व्यर्थ छ ।’ म पनि समाजसेवा र राजनीतिबाट आएकी हुँ । कसलाई के दुःख परेको छ, कसको माइती टाढा छ, कसले कति दुःख पाएको छ, त्यो बुझ्ने गर्छु । म जति गलेको भएपनि अरुलाई सन्चो छैन भने के खाने त हँ ? भनेर सोध्ने गर्छु । धनको दुःखी भएपनि मनको सुखी छौं । 
 मन्त्री भएपछि.. उहाँलाई सामान्य प्रशासन मन्त्री घोषणा गर्दा सार्वजनिक बसमा यात्रा गर्दै हुनुहुन्थ्यो । हामी सिरियस थियौं । उहाँलाइ त्यो मन्त्रालय मन नपरेको । मन्त्री लेउ भनेका पनि होइनन् । छानेका पनि होइनन् । मन्त्री पद दिइ हालेपछि उहाँले भन्नुभयो, ‘म इन्जिनरको विद्यार्थीलाई सामान्य प्रशासन मन्त्री ’ भनेर खिन्न हुनुभयो । मन्त्री भएर पनि खुसी हुन पाइएन भनेर घरमा कुरो भयो । झलनाथ खनालकोमा गएर ‘म जान्न’ भन्नुभयो । ‘मलाई अनुभव पनि नभएकाले म यो पद खान्न’ भन्नुभयो । तर खनालले जानु भन्नुभयो । सुरुका दिनमा मलाई सरकार छिट्टै विघटन भइदिए पनि हुन्थ्यो जस्तो लाग्यो । भूपू मन्त्री भइहालिन्थ्यो, काम गर्न नसके पनि त्यति आलोचना खेप्नुपर्दैनथ्यो जस्तो लागेको थियो । तर राम्रो हुँदै गयो । पछि त २ सय वर्षसम्म मन्त्री भएर मेरो बुढाले देशको लागि केही गरुन् भन्ने लाग्यो । गाडी फिर्ता गर्दा निकै खुसी लाग्यो सरकारले महंगो मूल्यको गाडि चढ्न प्रस्ताव गरेको थियो । तर उहाँले अस्विकार गर्नुभयो । एक करोड रुपैयाँ उठाएर फिर्ता गरिदिनुभयो । यस्तो सुन्दा मलाई निकै खुसी लाग्छ । आखिर खुसी भनेको यहि त हो । त्यस्तै उहाँले पासपोर्टको लागि दुई सिफ्ट चलाउनुभयो । त्यसले जनतालाई राहत मिलेको थियो । यस्तो कुराले हाम्रो परिवारमा निकै खुसी मिलेको छ । डिभि पिआरको लडाईंमा म उहाँलाई भन्ने गर्थें । ‘हजुरले चिन्ता गर्नुपर्दैन, यो पास हुन्छ ।’ पास भयो एकदम खुसी लाग्यो । उहाँले भन्नुहुन्थ्यो, ‘तिमी यसलाई किन चासो राख्छौ ?’ सदनबाट पास भएपछि राष्ट्रपतिकोमा रोक्न जाने हो की भन्दा, ‘जाँदैन’ भन्नुहुन्थ्यो । तर पछि रोक्न पनि गएछन् । पास भएको बेला उहाँ सिंहदरबारमा हुनुहुँदो रहेछ । राष्ट्रपतिबाट नियमावाली पास भएपछि मलाई फोन गर्नुभयो । निकै खुसी लाग्यो ।  
मलाई त्यतिबेला फुटबल खेलको याद आयो । खेलमा एउटा समूहमा ११ जना हुन्छन् । दुई टिम हुन्छन् । एउटा टिममा उहाँ एक्लै हुनुभयो । अर्कोमा ११ जना खेलाडी थिए । उहाँ एक्लैले सबैलाई छलाएर गोल गर्नुभयो जस्तो मलाई लाग्यो । अझै अरुले त्यो भन्दा बढी गर्नुभयो भन्छन् । मेरो त आफ्नै बुढो हो, म यत्तिकै खुसी छु तर यो निर्णयले देश नै खुसी भयो । पहिले साइकल चढेरै चुनाव जितेर देखाउनुभयो । सोमबार विराटनगरमा लालबाबु पण्डित जिन्दावाद भनेर नारा लागेछ । सामाजिक सञ्जालमा उहाँकै चर्चा छ । एक दुई जना ग्रिनकार्ड बोक्ने फटाहाहरुले उहाँको विरोध गरेका हुन् । उहाँले मेरै ग्रीनकार्ड वा पिआर भएको भएपनि छोड्नुहुन्थेन । नियमावाली संसोधन विधयक रोक्न धेरै साथीहरु आउँथे । ‘मेरो श्रीमतीको पेन्सन हुन लागेको छ’ नगर भनेर आग्रह गर्थे । ‘म कसैको मुख हेर्दिनँ, मेरै घर परिवारको भएपनि म गरेरै छाड्छु’ भन्नुहुन्थ्यो । 
डिभि पिआरको विषयमा धेरै केटाहरु आउँथे । तपाईंको सन्तानमाथि खतरा हुन्छ भन्थे । ‘हेर भाइ, एक दुई जना मरेर, देशको लागि राम्रो हुन्छ भने हामी मर्न तयार छौं ।’ मैले भन्थें । मलाई यस्तो कुरा मन्त्रीजीलाई सुनाउन मन लाग्थेनँ । त्यतिबेला मलाई भूपीको एउटा कविता याद आउँथ्यो, ‘बन्दैन मुलुक, दुईचार सपुत मरेर नगए… ।’ प्रस्तुती: सुदीप/सरिता

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us